कोरोना अपडेट: विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

काठमाडौं : कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या १७ लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर १७ लाख ९ सय ३२ संक्रमितको मृत्यु भएको हो ।

हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ । सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ८७ हजार २ सय ९१ जनाको मृत्यु भएको छ ।

यस्तै, भारतमा १ लाख ४५ हजार ८ सय १०, मेक्सिकोमा १ लाख १८ हजार २ सय २, इटालीमा ६९ हजार २ सय १४ र बेलायतमा ६७ हजार ७ सय १८ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या हिसाबले पनि अमेरिका सबैभन्दा अगाडि छ । त्यहाँ १ करोड ८० लाख ६ हजार ६१ जना संक्रमित भएका छन्। भारतमा १ करोड ५५ हजार ५ सय ६०, ब्राजिलमा ७२ लाख ६३ हजार ६ सय १९ र रुसमा २८ लाख ५० हजार ४२ जना संक्रमित भएका छन् ।