निर्वाचन आयोगमा प्रचण्डको यस्तो दाबि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिटो आफूहरुलाई आधिकारिकता प्रदान गर्न माग गरेका छन् ।

शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा हस्ताक्षर गरेका २९६ जना सदस्यसहितको जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफूहरु भएको भन्दै निर्वाचन आयोगले आधिकारिता, चुनाव चिन्ह र नामावालीमा हामीलाई प्रदान गर्ने विश्वास लिएको बताए ।

नेकपाको सो समूहले आफूहरु आधिकारिक भएको दावी गर्दै यसअघि नै केन्द्रीय सदस्यको हस्ताक्षर, केन्द्रीय समिति बैकको माइन्युट र निर्णय समेत निर्वाचन आयोगमा बुझाइसकेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले तत्काली केन्द्रीय समिति सदस्यको दुईतिहाइ भन्दा बढी आफ्नो पक्षमा रहेको दावी गरे । उनले हस्ताक्षर गर्ने २९६ भए पनि केन्द्रीय समिति बैठकमा र आज ३१५ जना सहभागी भएको बताए । अध्यक्ष प्रचण्डले २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको र त्यसको केन्द्रीय सदस्यको नामावली पनि निर्वाचन आयोगमा रहेको बताए । ‘हामीलाई विश्वास छ, निर्वाचन आयोगले आधिकारिता, चुनावचिन्ह र नामावालीमा हामीलाई प्रदान गर्ने छ’, उनले भने, ‘हामी सबै नेताहरु फेरि पनि सशरीर उपस्थित हुन तयार छौँ, आधिकारिकताको योभन्दा अरु ठूलो प्रमाण केही हुन सक्दैन ।’ उनले अर्को पक्षले १०० जना वरिपरिको बैठक बसेर अवैधरुपमा १ हजार १९९ कोन्द्रीय सदस्य बनाएर आधिकारिकता दावी गरेको भन्दै अध्यक्ष प्रचण्डले यो भन्दा हस्यास्पद अरु केही हुन नसक्ने बताए ।

उनले हामी यही छौँ भन्ने जानकारी दिन आज निर्वाचन आयोगमा आएको जानकारी दिए । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम र न्यायोचित निर्णय लिने बताए ।