चुनावी तालमेलबारे छिट्टै निर्णय गरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावी तालमेलबारे छिट्टै निर्णय लिनुपर्ने बताएका छन् ।

आइतबार बुढानीलकण्ठ नगरपालिका-२ मा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय तहको चुनावमा एक्लै लड्ने कि गठबन्धन दलहरूसँग तालमेल गर्ने भनेर निर्णयमा पुग्न अब ढिला नगर्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाले पार्टीको केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको स्मरण गराउँदै माथिबाट निर्णय हुन्छ भनेर अलमलमा परेर नबस्न समेत आग्रह गरेका छन् ।

तालमेल गर्ने सहमति नजुटेका स्थानीय तहमा केन्द्रले हस्तक्षेप गर्नु विधानविपरीत हुने महामन्त्री थापाको भनाई छ । उनले स्थानीय तहमै उम्मेदवार चयन गर्नुको सट्टा माथिबाट तय हुन्छ भनेर आश गर्नु स्थानीय चुनावको मर्म विपरीत हुने समेत बताएका छन् ।

कार्यक्रम भएको वडामा अर्को वडाका उम्मेदवार देखेपछि महामन्त्री थापाले समय खेर नफाल्न समेत स्मरण गराएका छन् ।

महामन्त्री थापाले केन्द्रले उम्मेदवार चयन गर्ने महानगरपालिका र उपमहानगरपालिकाको हकमा समेत पार्टीका स्थानीय कार्यसमिति र प्रदेश कार्यसमितिहरूको धारणा लिएर मात्रै उम्मेदवारीको टुंगो लगाइनुपर्नेमा जोड दिएका छन् ।