

काठमाडौँ : नेपालको राष्ट्रिय खेल अहिले भलिबल हो। २०७४ जेठ ८ गते नेपाल सरकार मन्त्रि परिषद्को बैठकले भलिबललाई नयाँ राष्ट्रिय खेल घोषणा गरेको थियो।




तर अहिले खेलकुद ऐन परिमार्जनको अवस्थामा रहेको र प्रस्तावित ऐनमा यसबारे स्पष्ट उल्लेख नभएका कारण राष्ट्रिय खेलको मान्यता अन्योलमा परेको छ।
प्रस्तावित ऐनको परिच्छेद ८ को उपधारा २९ मा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा नेपालको राष्ट्रिय खेल घोषणा गर्ने उल्लेख गरिएको छ। तर अहिले भलिबल नै राष्ट्रिय खेलको रुपमा रहेको छ। यस्तो अवस्थामा यस बुँदाले अन्योलता थपेको हो।
यसै सन्दर्भमा नेपाल भलिबल संघले राष्ट्रिय खेल भलिबल नै रहेको र उक्त बुँदा परिमार्जन गर्दै नेपालको राष्ट्रिय खेल भलिबल नै राखन माग गर्दै विभिन्न तहमा ज्ञापन पत्र बुझाएको छ।
संघले शिक्षा तथा स्वास्थ्य समितिका सभापति, युवा तथा खेलकुद मन्त्रालयलाई ज्ञापन पत्र बुझाइसकेको छ। संघले बुधवार नेपाल ओलम्पिक काउन्सिलका अध्यक्ष तथा सांसद जिवन राम श्रेष्ठलाई समेत भेटर ज्ञापन पत्र बुझाएको छ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले भलिबलले राष्ट्रिय खेलको मान्यता पाइसकेको अवस्थामा यसरी अल्झन नहुने बताए। साथै उनले सम्बन्धित निकायले भलिबल नै राष्ट्रिय खेल रहेको र त्यसबारेमा प्रस्तावित ऐनमा संशोधन गरिने आश्वासन दिएको जानकारी दिए।