प्रधानमन्त्रीको गृहनगर दमकमा बयलगाडा सहित कांग्रेसको बिरोध जुलुस

झापा : सरकारको गैह्र संवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय विरोध कार्यक्रम गरेको छ ।सोही क्रममा झापा क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ अन्र्तगत प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयबाट सुरु भएको विरोध र्‍याली दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो । बयल गाडा सहित निस्किएको विरोध र्‍याली ठाउँ ठाउँमा कोणसभा गर्दै नमुना बजार पुगेको थियो ।

बिज्ञापन

कोणसभाहरूलाई काँग्रेस पूर्व झापा जिल्ला सभापति पूर्णानन्द शर्मा, पार्टीका महासमिति सदस्यहरू सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डी भण्डारी, नगर सभापति रोशन विष्ट, महिला सङ्घ क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईँ, नगर सभापति मन्धरा पौडेल लगायतले सम्बोधन गरे ।

काँग्रेस नेताहरूले अहिले भ्रष्टाचारले सीमा नाघेको साथै महँगीले नागरिक आक्रान्त भई रहेका बेला जनताको सर्वोच्च थलो संसदनै विगठन भएकोले नागरिकको अधिकारका लागी सडकमा आउनु पर्ने बाध्यता रहेको बताएका थिए ।