
बिराटनगर । प्रदेश नं १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर मगरले कृषि व्यवसायिकरणका लागी सहकारी क्षेत्रलाई प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ ।
प्रदेश सरकारको राज्यमन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा वर्षभरि सम्पादन गरिएका प्रमख कार्यहरुको बारेमा जानकारी दिन आयोेजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनभएको हो ।
उहाँले कृषिको व्यवसायीकरणमा सहकारीको महत्वपुर्ण भमिका रहेको जिकिर समेत गर्नुभयो एक्ला,एक्लै र साना फर्महरुबाट मात्रै कृषिलाई व्यवसायिकरण गर्न सम्भव नहुने कुरा पनि उहाँले प्रष्ट पार्नुभयो ।
मन्त्री मगरले मन्त्रालयबाट वितरण गरिने अनुदान अपारदर्शी भएको गुनासो बढिरहेका बेला आफुले कार्यभार सम्हालेपछि यसलाई पारदर्शी र व्यवस्थित बनाएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७६\७७ मा सम्झौता भएर पनि कोभिड लगायत विभिन्न कारणले सम्पन्न गर्न नसेको ७५ करोड भन्दा बढी रकमको अनुदान कार्यक्रम चालु आर्थिक वर्षमा कार्यान्वयन गरिएको उहाँको भनाई छ । यो अवधिमा भने कुल बजेटको ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी जारी गरिएको लकडाउन अवधिमा केही समय मल अभावको समस्या उत्पन्न भएपनि मन्त्रालयसँग समन्वय गरेपछि हाल खाद्यान्न उत्पादनमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।



