
विराटनगर । प्रदेश नं. १ को मेची–कोशी राजमार्ग अन्तर्गतको सडकखण्डमा पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको छ ।

चालकको लापरबाही, ओभरस्पिड, ओभरटेक र ट्राफिक नियमको अवहेलना लगायतका कारणले सडक दुर्घटना मौलाएको हो । जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनाको अवद्यिमा पुर्व–पश्चिम राजमार्ग अन्तर्गत ४ सय २८ वटा सवारी दुर्घटना भएका छन् । जसमा परी ५१ पुरुष, १४ महिला र ३ जना बालबालिका गरि ६८ जनाले ज्यान गुमाएका छन् भने १ सय ५१ जना गम्भीर घाईते भएका छन् ।



कार्यालयको चालु आ.ब.को अर्धबार्षिक समीक्षा अनुसार सबैभन्दा बढी पौषमा १ सय ६० वटा सडक दुर्घटनाका घटनाहरु भएका छन् । जसमा परी १६ पुरुष, २ महिला र ३ बालबालिका गरि २१ जनाको ज्यान गएको छ भने ५२ जना गम्भीर घाईते भएका छन्
।

कार्यालयका अनुसार दुर्घटना पर्ने सवारीसाधनहरुमा मोटरसाईकलको संख्या सर्वाधिक छ । पछिल्लो ६ महिनाको अवधिमा १ सय ४७ वटा मोटरसाईकलहरु दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले बताउनुभयोे । उहाँले चालु आ.ब.को हालसम्म ट्रक तथा ट्याङकर २९, टिपर ४, डोजर १, बस १५, माईक्रो १, जिपकार ४६, ट्रयाक्टर २६ र टेम्पो ४९ वटा दुर्घटनामा परेको जानकारी दिनुभयो ।
नेपालमा भने प्रतिबर्ष ९ हजार बढी सवारीसाधन दुर्घटनामा परी प्रति दुर्घटना ४ जनाले ज्यान गुमाउने गरेका छन् । यो आँकडा पनि दिनप्रति दिन बढ्ने क्रममा रहेको १ नंं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।