
विराटनगर । विराटनगर महानगरपालिकामा आईतबार बसेको बोर्ड बैठक बहुसंख्यक सदस्यले बहिष्कार गरेका छन् ।

महानगर प्रमुख भीम पराजुलीले सबै योजना र निर्णयमा एकलौटी निर्णय गर्न थालेपछि माघ ११ गते बोलाईएको बैठक बहुसंख्यक सदस्यहरुले बहिष्कार गरेका हुन । महानगर प्रमुख पराजुलीको एकलौटी निणर्यको विरोध स्वरुप बोर्ड सदस्यहरुद्वारा बैठक बहिष्कार गरिएको उप–प्रमुख ईन्दिरा कार्कीले बताउनुभयो ।



महानगरकी उप–प्रमुख ईन्दिरा कार्की, विराटनगर ३ का अध्यक्ष विनोद बस्नेत, ९ का विश्वनाथ भगत, २ का कुमार पोखरेल, ४ का देवेन्द्र पोखरेल र १६ का वडाध्यक्ष मनोज सुब्बा लगायतका बहुसंख्यक बोर्ड सदस्यहरुले बैठक बहिष्कार गरेको जनाईएको छ ।

विराटनगर-९ का अध्यक्ष विश्वनाथ भगतका अनुसार महानगर प्रमुख पराजुलीले मनपरी ढङ्गबाट कर्मचारी नियुक्ती गरेर महानगरमाथि आर्थिक भार थप्न खोजेका हुन । महानगर प्रमुखले आफ्नो अनुकुलका योजनाहरु मात्र बोर्डबाट पास गराउन खोजेकाले बैठक बहिष्कार गरिएको वडाध्यक्ष भगतको भनाई छ ।
बोर्ड सदस्यहरुका अनुसार मेयरका रुपमा निर्वाचित भईसकेपछि पराजुलीले हालसम्म १ सय ७० जना नयाँ कर्मचारीहरु नियुक्त गरिसकेका छन् । नियुक्त भएका ५० प्रतिशत कर्मचारी कम्युनिष्ट धारको भएको बताईएको छ ।
२०७३ साल अषाढमा निर्वाचित भएदेखि महानगर प्रमुख पराजुलीले हालसम्म कुनै नयाँ योजना ल्याउन नसकेको बोर्ड सदस्यहरुको आरोप छ ।