प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा निकालियो सिट्टी जुलुस

विराटनगर/  प्रतिनिधिसभा विघटन विरुद्ध नेकपा विराटनगर महानगर कमिटीले सिट्टी जुलुस निकालेको छ । कमिटीले मंगलबार विराटनगरको जनआन्दोेलन चौकदेखि सिट्टी जुलुुस निकालेको हो । पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको व्यापक सहभागितामा निकालिएको जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोद्यन गर्नुहुँदै नेकपा मोरङ जिल्ला सचिवालय सदस्य ओसिम आलमले सत्ताका नाममा गलत निर्णय गर्नेले महाअभियोगका लागी तयार बस्नुपर्ने बताउनुभयो । उहाँले सत्ताको नाममा मुलुकलाई प्रतीगमनतर्फ डोर्याउने प्रधानमन्त्री ओलीको आदेशको पालना भयो भने भोलिका दिनको सबैको हिसाब हुने चेतावनी समेत दिनुभयो ।

संसद विघटन विरुद्ध पछिल्लो समय देशव्यापी रुपमा भईरहेको संघर्षलाई निरन्तरता दिँदै नेकपा प्रदेश कमिटीले आगामी माघ १६ गते विराटनगरमा पनि विशाल जनप्रर्दशनको आयोजना गरेको नेकपा नेता पारुल क्षेत्रीले जानकारी दिनुभयो । प्रर्दशनमा ५० हजार कार्यकर्ता ओराल्ने कमिटीको तयारी रहेको उहाँको भनाई छ । प्रर्दशनलाई भने नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने जनाईएको छ ।