
बुटबल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब केहि महिनाभित्र अब केपी ओलीको स्वेच्छारिता अन्त्य हुने बताएका छन् ।
‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं, अब केहि महिनाभित्रै ओलीको स्वेच्छाचारिता अन्त्य गर्छौं,’ बुटवलमा बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं। अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’
प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डो¥याउने बताए ।
उनले आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा यो संकट आइपरेको उनको भनाइ छ । उनले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा रहेको र आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेको उनले बताए ।
‘तर सबैभन्दा ठूलो अदालत तपाईंहरु जनताको जनअदालत हो, यसको फैसला सबैभन्दा ठूलो हो,’ उनले भने ।
गणतन्त्रका लागि जनताले खेलेको भूमिका स्मरण गर्दै प्रचण्डले अहिले फेरि निरंकुश र लोकतन्त्रविरोधी शक्ति परास्त गर्न जनता त्यसैगरी जाग्नुपर्ने बेला आएको उनले बताए ।
यस्तै अर्को अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले अहिलेसम्म कुनै पनि आन्दोलनको अगुवाइ नगरेको बताए ।
अध्यक्ष नेपालले ओली अगुवाइ गर्ने मान्छे नभएर पछि लतारिने मान्छे भएको बताए ।
‘ओली समयको पछाडि लतारिने मान्छे हो, अगुवाइ गर्न सक्ने खुवी र क्षमता उहाँमा छैन’, अध्यक्ष नेपालले भने, ‘यो सबै कुरा हामीले अनुभवबाट प्राप्त गरेका छौँ, अनुभव भन्दा ठूलो कुरा अरु केही हुन सक्दैन ।’
उनले ओलीले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको नेतृत्व नगरेको र उनको बानी नै पछाडि बसेर कुरा काट्ने रहेको बताए ।
‘केपी ओलीले अहिलेसम्म कुनै पनि न्यायपूर्ण आन्दोलनको अगुवाइ गर्नुभएको छैन’, उनले भने, ‘जहिले पनि पछाडि बसेर कुरा काट्ने उहाँको बानी छ, पछाडि बसेर अरुको बद्ख्वाई गर्न स्वभाव छ ।’
उनले ओलीले अनुचित टीकाटिप्पणी र अरुको खुट्टामात्रै तान्ने काम गरेको आरोप लगाए ।
‘उहाँले अरुको अनुचित टीकाटिप्पणी र खुट्टा तान्नेमात्रै काम गर्नु हुन्छ, त्यसैले उहाँ खुट्टामात्रै सम्झनुहुन्छ’, उनले भने, ‘हामी उहाँको हात समातेर अगाडि बढाउन चाहन्छौँ, उहाँ थचक्क बस्नुहुन्छ, अगाडि बढ्नै चाहानुहुन्न ।’




