
नेकपाको केपी ओली पक्षले आज काठमाडौंमा मोटरसाइकल र्याली गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्याली गर्न लागेका हुन् । माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने तयारी स्वरुप ओली समूहका नेता महेश बस्नेतले नेतृत्वमा १० हजार मोटरसाइकल र्याली निकाल्ने दाबी गरिएको छ ।

मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने ¥याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमलचोक, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातो पुल, गौशाला, एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ ।



रत्नपार्कमा हुने जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए । जनसभा सफल बनाउन प्रदेश, जिल्ला, नगर र वडासम्म जनसभा परिचालन कमिटी बनाउने र सहभागीता व्यापक बनाउने उनले बताए ।
