
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो । मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा पुरीले राजनीतिक पृष्ठभूमिको फाइदा उठाउँदै सरकारी कागजात कीर्ते गरेर दमकस्थित बालुवाटारको २४ बिगाहा जग्गा हत्याएको पाइएको थियो । प्रहरीले चलाएको कीर्ते मुद्दामा अदालतबाट ७ चैत २०७६ मा धरौटी तिरेर उनी छुटेका थिए । यद्यपि, प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा पनि अनुसन्धान गर्नुपर्ने राय दिएको थियो । विभागले ९ मंसिरमा उनलाई पक्राउ गरेर अुकत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको थियो ।



