
ओखलढुङ्गा । ओखलढुङ्गामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ । नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम दुर्गम गाउँबस्तीमा प्रभावकारी बनेको हो । स्वास्थ्य बीमा कार्यक्रममा समेटिएपछि विगतमा जस्तो सामान्य स्वास्थ्य उपचार गराउँदा पनि मोटो रकम तिर्नुपर्ने बाध्यता टरेको मोलुङ गाउँपालिका–२ का नवराज दाहालले बताए । स्वास्थ्य बीमाले गर्दा आपतकालीन अवस्थामा झन बढी सहयोग मिलेको उनको भनाइ छ ।

जिल्लाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् । “सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होला जस्तो भएको थियो । पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम ग¥यो”, खिजीदेम्बाका सुमन सुनुवारले भने, “जम्मा तीन हजार ५०० तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै पो सहयोग हुँदो रहेछ ।” उपचार सेवामा छुट पाएपछि पहिलोपटक सरकारको साथ मिलेको अनुभूति भएको उनको भनाइ छ ।



ओखलढुङ्गाका १८ हजार नागरिक बीमाको पहुँचमा पुगेका छन् । ओखलढुङ्गाको एक लाख ४७ हजार जनङ्ख्यामध्ये बीमाको पहुँचमा आठ स्थानीय तहका १८ हजार १७४ जना नागरिक स्वास्थ्य बीमामा समेटिएका हुन् । स्वास्थ्य बीमा कार्यक्रम शुरु भएपछि उत्साहजनक रूपमा नागरिक बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्डको जिल्लास्थित कार्यालय प्रमुख सुदीप कार्कीले बताए ।

जिल्लामा कार्यालय स्थापनाको भएको दुई वर्ष नपुग्दै बीमाको आवश्यकता र महत्व बुझेर बीमा गराउनेको सङ्ख्या बढेको उनको भनाइ छ । “जिल्लाका सबै स्थानीय तहबाट बीमामा उत्साहजनक सहभागिता छ । छोटो समयमै हामीले १८ हजारभन्दा बढीलाई बीमा कार्यक्रममा समेटिसकेका छौँ” कार्यालय प्रमुख कार्कीले भने, “बीमाको उपयोगिता बढेसँगै अझै यो सङ्ख्या बढ्नेवाला छ । पहिला हामीले बीमाका बारेमा बुझाउन घरघर गएर परामर्श दिनुपर्थ्यो, अहिले उहाँहरु आफैँले बुझेर बीमामा सहभागिता जनाउन आउनुहुन्छ । हामी हाम्रो संयन्त्रमार्फत पनि बीमालाई थप प्रभावकारी बनाउन जुटिरहेका छौँ ।” उनका अनुसार स्थानीय तह, जनप्रतिनिधि र अगुवाको सहकार्यमा जिल्लाका सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउने योजना छ ।
बीमाका लागि सामान्यतः एक आर्थिक वर्षमा रु तीन हजार ५०० तिर्नुपर्छ । यो रकमले पाँच जना परिवारसम्मको बीमा गर्न सकिन्छ । त्यसभन्दा बढी सदस्य भए प्रतिपरिवार थप शुल्क लाग्छ । स्वास्थ्य बीमा बोर्डको प्रावधानअनुसार निश्चित समूहका व्यक्ति तथा परिवारको पूर्ण निःशुल्क र आधा शुल्कमा पनि बीमा हुने गरेको छ । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भई सो सेवा पाएका व्यक्ति, एड्स र क्षयरोगका बिरामीको भने बीमा निःशुल्क हुने व्यवस्था छ ।
त्यस्तै महिला स्वास्थ्य स्वयंसेविका र निजका परिवारलाई बीमा शुल्कको आधा छुटको व्यवस्था छ । बीमा गरेपछि प्रारम्भिक सेवा केन्द्र तोकिएका अस्पतालबाट सेवा लिँदा प्रतिव्यक्ति रु एक लाखसम्मको उपचार निःशुल्क हुन्छ । ओखलढुङ्गामा जिल्ला अस्पताल रुम्जाटार, सामुदायिक अस्पताल मिसन ओखलढुङ्गा र प्राथमिक स्वास्थ्य केन्द्र रानीवनबाट यो सेवा लिन सकिन्छ । स्वास्थ्य बीमा गरेका नागरिकले अहिले ओखलढुङ्गाका जिल्ला अस्पताल र सामुदायिक अस्पतालबाट सहज रूपमा सेवा लिइरहेका छन् ।
जिल्लाका सबै स्थानीय तहले स्वास्थ्य बीमाका कार्यक्रमलाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर काम गरिरहेका छन् । बीमा बोर्डका प्रतिनिधिहरु गाउँगाउँमा राखिएको छ । उनीहरुले बीमा गर्ने र लाभग्राहीलाई सेवाका लागि सहजीकरण गर्नेसम्मको काम गरिरहेका छन् । ओखलढुङ्गा सामुदायिक अस्पतालमा दैनिक १०० जनाभन्दा बढीले बीमामार्फत उपचार सेवा लिने गरेको तथ्याङ्क छ । जिल्ला अस्पतालमा बिरामीको चाप कम हुने हुँदा त्यहाँबाट सेवा लिनेको सङ्ख्या न्यून छ । उता प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा नियमित चिकित्सक नबस्दा चम्पादेवी र लिखु आसपासका नागरिक भने रामेछापको सदरमुकाम मन्थली वा राजधानी काठमाडौँ धाउन बाध्य छन् ।
नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सङ्घीय सरकारले जनस्वास्थ्य सेवा ऐन, २०७५ निर्माण गरे पनि स्थानीय तहमा भने ऐन तथा नियम बन्न नसक्दा नागरिकको स्वास्थ्यको अधिकार सुरक्षित गर्न चुनौती देखिएको सरोकारवालाको भनाइ छ । ओखलढुङ्गा जिल्ला स्वास्थ्य सुविधाका हिसाबले पूर्वको विकट क्षेत्र मानिन्छ । जिल्लामा स्वास्थ्यको सहज पहुँच नहुँदा यहाँका नागरिक विगतमा सामान्य स्वास्थ्य परीक्षण र उपचारका लागि राजधानीसम्म ठूलो धनराशि खर्च गरेर जान बाध्य थिए । पछिल्लो समय सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहमार्फत स्वास्थ्य सेवा सञ्चालन हुन थालेपछि स्वास्थ्य सेवा प्रभावकारी बनेको छ । नागरिकले घरदैलोमा भएका स्वास्थ्य संस्थामार्फत सेवा लिन पाएका छन् ।