बम बिस्फोट भएको स्थानमा जयकृष्ण गोइतकोे पर्चा भेटियो, घाइतेलाई काठमाडौं पठाउने तयारी

सिरहा । मालपोत कार्यालय लहानमा बम विस्फोटस्थलबाट जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको छ । बम विस्फोट भएको कार्यालयको पहिलो तल्लास्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा भेटिएको हो ।

विस्फोटक पदार्थ रहेको झोलामै उक्त पर्चा राखिएको थियो वा अन्य ठाउँमा यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पर्चामा पार्टी अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर छ । पर्चामा लेखिएका हरफहरु प्रष्ट पढ्न नसकिनेगरी टुक्रा टुक्रा भएका छन । टुक्रा टुक्रा परेको पर्चा जाडेर प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएरहेको डीएसपी तपन दहालले बताए । घाइते यादवलाई हेलिकप्टरबाट थप उपचार लागि काठमाडौं पठाउँदै छौं, उनले भने । अहिलेसम्मको जानकारी अनुसार उनको अवस्था गम्भीर छ । हेलिकप्टर मगाएका छौं उनले भने । घाइते यादव सहित तीन जनाको उपचार लहान अस्पतालमा भैरहेको डीएसपी दहालले बताए । घाइते हुनेमा नासु शिव कुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फूलकुमार ठाकुर, बद्री नारायण यादव, भोलाबहादुर मगर रहेका छन् ।

भींडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ(कुकर बम) कतिबेला कसले राखेको बारे केहि खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो । लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा छ । इलाका प्रहरी कार्यालयको सम्मुने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसित बनाएको छ ।