गृहमन्त्री बादल र प्रधान सेनापतिसँग पाकिस्तानी राजदूतबिच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि पाकिस्तानका राजदुत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालमा राजदुतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राजदूत हैदरको कार्यकालमा नेपाल पाकिस्तान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालिम, अनुभव लगायतमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्ने बताए।

बिज्ञापन

राजदूत हैदरले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपाल–पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन आफूले सक्दो पहल गर्ने बताए । राजदूत हैदरले नेपालीहरुको क्रिकेट खेलप्रतिको आकर्षणबाट आफू प्रभावित भएको भन्दै नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए । यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि पाकिस्तानका नवनियुक्त राजदूत सैयद हैदर साहसँग भेटवार्ता गरेका छन् ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।