
पश्चिम बंगालको ५ जिल्लामा ४४ सिटमा आज चौथो चरणको मतदान जारी छ । यस दौरान कयौँ क्षेत्रमा हिंसाको खबरहरु आएका छन् । कूचबिहारको सीतालकुचीमा तृणमूल काँग्रेस र भाजपाका समर्थकबीच झडप भएको छ ।
झडपमा ४ जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले फायरिङमा उनीहरुको मृत्यु भएको दलहरूको आरोप छ । हाल सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् ।
चुनाव आयोगका अनुसार बिहान ११ बजेसम्म १६.६५ प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन् । यस चरणमा ३७३ प्रत्यासी चुनावी मैदानमा खडा छन् । उनको भाग्यको फैसला १.१५ करोड मतदाताले गर्नेछन् ।
हावडाको ९, दक्षिण २४ परगनाको ११, अलीपुरद्वारको ५, कूच बिहारको ९ र हुगलीको १० सिटमा मतदान जारी रहेको छ । यस चरणमा एक केन्द्रीय मन्त्रीसहित ३ सांसदको भविष्य दाउमा रहेको छ ।