
सभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन्।
लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आज सुनुवाई हुन लागेको हो। उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।
हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्न नभ्याइनेमा परेको थियो। यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो।
सुरुमा पूर्णिमायाको जाहेरी प्रहरीले लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा चलिरहको छ। जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेर नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन्।
नियमित पेसीमा चढे पनि आज सुनुवाइ हुने वा नहुने निश्चित छैन।
माओवादीको सशस्त्र द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा मुख्य दोषी रहेको भन्दै उनीविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो।