
काठमाडौं । पार्टी एकतालाई अन्तिम रुप दिने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच आज विहान एकताको बिषयमा लामो छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रिमण्डल हेरफेरका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। यद्यपी उहाहरुवीच मुख्यत पार्टी एकताकै विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
छलफलमा पार्टी एकता हुन नदिन र परिस्थिति बिथोल्न धेरै शक्ति लागि परेकाले पार्टी एकतालाई अन्तिम रुप दिएर त्यसका विरुद्ध लड्नुपर्ने निश्कर्ष निकालिएको छ । दुवै नेताले अव ढिला नगरी पार्टी एकता टुंग्याएर सरकारको कामलाई अझै तीब्रता दिने निश्कर्षसमेत निकाल्नुभएको छ ।
पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेताहरूसँग बालुवाटारमै बसेर छलफल गरिरहनु भएको छ ।
प्रधानमन्त्रीले अहिले विभिन्न विषयमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको बताइएको छ । जनताटाईम्स