भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका ३ बालकको सनाखत

तुलसीपुर : तुलसीपुरको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तिन वटा सवको सनाखत भएको छ ।

करिब एक बर्षदेखि पार्किङ गरि राखेको RJ 01CC0885 भारतीय नम्बरको गाडीमा मृत भेटिएका बालक तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निवासी भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

बिज्ञापन

तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए । बैशाख १६ गतेदेखि हराइरहेका ती बालकहरु शनिबार साँझ कारमा मृत अवस्थामा भेटिएका थिए । अनुसन्धानका लागि कुकुर सहित एक्सपट टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए । उनले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनीहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताए ।