अक्सिजनसहितको आइसोलेसनको तयारीमा सुर्खेतका स्थानीय तह

तिबेला दोस्रो लहरको कोरोनाले उग्र रुप लिइरहेको छ ।  दिनदिनै कोरोना संक्रमितको दर उकालो लागिरहेको छ । संक्रमितले भएका अस्पतालका बेड भरिभराउ भएका छन् भने समयमा उपचार नपाएका कोरोनाका बिरामीको ज्यान जाने गरेको छ।

यस्तो अवस्थामा कोरोनाको संकट टार्न यहाँको सुर्खेतका स्थानीय तह कोरोना प्रतिकार्यमा जुट्न थालेका छन् ।  पालिकाहरुले आफ्नै पहलमा अक्सिजन सहितका आईसोलेसन कक्षहरु स्थापना गर्न थालेका हुन् ।
नागरिकको ज्यान भन्दा ठुलो अरु केही नभएकाले पालिकाहरु पनि आ–आफ्नो क्षेत्रमा आईसोलेसन कक्ष स्थापनामा जोड दिएका हुन् ।  प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजन सहितको आईसोलेसन तयारी थालेको छ ।

बिज्ञापन

जस अनुसार शुक्रबारदेखि २५ बेडको आईसोलेसन कक्ष सञ्चालनमा ल्याईसकेको छ।  नगरपालिकाले तत्काका लागि अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड–१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरउपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

‘अबको केही समयमा नै थप २५ शय्याको थपेर ५० शय्याको अक्सिजन सहित आईसोलेसन कक्ष सञ्चालन हुन्छ,’उनले भनिन् ।’ पालिकाले अस्पतालहरुमा पनि बेड अभाव भएकाले र वीरेन्द्रनगरमा कोरोनाका संक्रमितको संख्या पनि वृद्धि भइरहेकाले यो पहल थालेको हो ।  हालका लागि दुईजना डाक्टर र एउटा एम्बुलेन्स व्यवस्थापन गरिएको ढकालले बताइन् ।

साथै बिरामीलाई बोक्न अक्सिजनसहितको एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् । होम आशोलेसनमा रहेका बिरामीहरुका लागी टेलिमिडिसिएन सेवा र दुईवटा फोन नम्बर पनि सञ्चालनमा ल्याएईएको छ।
नगरपालिकाले हप्तामा दुईदिन सोमवार र शुक्रवार बिहान स्वाब संकलन गर्दै आएको छ । तर, स्वाब संकलन तथा पीसीआर परीक्षणका लागि आवश्यक किटको भने अभाव हुँने गरेको नगरपालिकाले बताएको छ । वीरेन्द्रनगनगर नगरपालिकाले गरेको परीक्षणमा मात्रै पछिल्लो समय नगरभित्र एकहजार सक्रिय संक्रमित छन् ।

यस्तै भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका,  पञ्चपुरी नगरपालिकामा, लेकबेसीनगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आईसोलेशन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् ।

गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आईसोलेशन कोरोना अस्पताल स्थापना गरिसकेको बताएको छ।  मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सीटी हल मेहेलकुनामा अस्थाई कोरोना अस्पताल स्थापना गरिएको नगरपालिकाले बतायो ।    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारमा सहजताका लागि अक्सिजनसहितको आईसोलेशन कोरोना अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए ।

‘हामीले तत्कालका  लागि २५ बेडको अक्सिजनसहितको आईसोलेशन अस्पताल निर्माण गरेपनि आवश्यक परे सीटी हलमै २० बेड थप्ने व्यवस्था मिलाएका छौँ,’उनले भने । अधिकतम सेवा सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहलकुना अस्पताललगायतको टीम परिचालन गरिएको छ ।

पश्चिममा पर्ने चौकुने गाउँपालिकाले  वडा नं.–६ स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा अक्सिजनसहितको आईसोलेसन कक्ष सञ्चालनमा ल्याइसकेको छ ।
पालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने ,‘ तत्कालका लागि १२ बेडको आईसोलेसन बनाइए पनि आवश्यक परेमा ५० बेडसम्मको बनाउन सकिनेछ ।’  हामी आफ्ना नागरिकलाई जतिसक्दो कोरोनाबाट बचाउनका लागि हर प्रयास गरिरहेका छौँ,’शाहीले भने  ,‘ १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ ओटा अक्सिजन सिलिण्डर छन्।’

यस्तै सिम्ता गाउँपालिकाले पनि ५० बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ। गाउँपालिका–४ स्थित बजेडीचौर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको पालिकाले बताएको छ ।

गाउँपालिकाभित्रका कोरोना संक्रमित बिरामीलाई ध्यानमा राखेर सबैलाई पायक पर्ने गरी आइसोलेसन कक्षको सुरुवात गरिएको पालिकाका अध्यक्ष  कविन्द्र केसी बताउँछन् ।
कोरोनाको जोखिमलाई ध्यानमा राखेर जनप्रतिनिधि स्वास्थ्यकर्मी जनताको घरदैलोमा पुग्ने गरेका छन,’उनले भने ,‘ स्वास्थ्य चौकी नभएको क्षेत्र, टोल–टोलमा स्वास्थ्य जाँच गराइरहेका छौँ ।’
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार सुर्खेत जिल्लाभर १५ वटा एम्बुलेन्स रहेका छन् । त्यी एम्बुलेन्स कोरोनाका बिरामीलाई ल्याउने र सम्बन्धीत अस्पताल अथवा घरसम्म पु¥याउने जस्ता काममा सक्रिय छन् ।

प्रशासनका अनुसार जिल्लाभर अक्सिजन सिलिण्डरको संख्या २ सय ५८, अस्पताल एक बेड संख्या २ सय, ५५ आईसीयु, १५  भेन्टिलेटर सँख्या रहेको छ।  प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार सुर्खेतमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५१ रहेको छ । उनका अनुसार १ हजार ७ सय ९६ जना कोरोना संक्रमित होमआईसोलेसनमा, १० जना क्वारेन्टाइनमा, आईसीयुमा उपचाररत ५० जना र १० जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।