महिला खेलाडीलाई पनि पुरुष समान तलब दिने निर्णय

महिला फुटबल खेलाडीहरुले पनि पुरुष समान तलब पाउने भएका छन् । बिहीबार अखिल नेपाल फुटबल संघको बैठकले पुरुष र महिला राष्ट्रिय टोलीका सदस्यहरुलाई समान १८ हजार रुपैयाँ मासिक तलब दिने निर्णय गरेको हो । यसअघि पुरुष राष्ट्रिय टोलीका खेलाडीहरुलाई १५ हजार र महिला राष्ट्रिय टोलीका खेलाडीहरुलाई ७ हजार तलब दिइदैं आइएको थियो ।

यसअघि महिला र पुरुष खेलाडीहरुको तलब समान हुनुुपर्ने आवाज विश्वव्यापी रुपमा उठेसँगै एन्फाका केही पदाधिकारीहरुले पनि समान रुपमा तलब वितरण हुनुपर्ने माग गरेका थिए ।एन्फा बैठकले मुख्य प्रशिक्षक योहान कालिनको राजिनामा स्विकृत गर्ने, पूर्व एन्फा उपाध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान मणि शाहको अर्धकदको शालिक एन्फा परिसरमा निर्माण गर्ने निर्णय समेत गरेको छ ।