५० वर्षमाथिका एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता

कालिकोट।  जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाले श्रीमती नभएका एकल पुरुषलाई जीवन साथी कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

 

बिज्ञापन

गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रममार्फत गाउँपालिकाभित्र रहेका ५० वर्षमाथिका एकल पुरुषलाई जीवन साथी कार्यक्रमअन्तर्गत मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

 

शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले लैंगिक समानता तथा एकल पुरुषको जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले गाउँपालिकाले जीवन साथी कार्यक्रमअन्तर्गत एकल पुरुषलाई समेत सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेकोे बताए ।

 

वृद्धभत्ता ६० वर्ष पुगेपछि मात्र पाउने र यहाँका मानिसको आयु, सामाजिक तथा आर्थिक हिसाबले ५० वर्षमाथि नै कमाउन नसक्ने अवस्था हुने भएकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरी  जीविकोपार्जनका लागि सहयोगी बन्न खोजेको बताए ।

 

१ सय ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई पनि अब मासिक ५ हजार प्रोत्साहन भत्ता दिने नीति गाउँपालिकाले ल्याएको छ ।

 

गाउँपालिका अध्यक्ष शाहीका अनुसार कुल २९ करोड ४८ लाख ७५ हजार बजेट सार्वजानिक गर्दै कृषि, यातायात, स्वास्थ्य, शिक्षा, लक्षित समूह र बेरोजगार युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकता दिइएको छ ।