राष्ट्रपतिसमक्ष ओलीले लिए ४३औं प्रधानमन्त्रीको शपथग्रहण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४३औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहका बीच उनले शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ (३) अनुसार ओलीलाई संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यही वैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपतिले तीन दिनभित्र बहुमतको सरकार बनाउन दलहरुलाई आह्वान गरेकी थिइन् । तर त्यो समयसीमाभित्र दलहरुले दावी नगरेपछि संसदमा रहेका दलमध्ये सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरिएको हो ।

बिज्ञापन

प्रधानमन्त्रीमा नियुक्त ओलीले एक महिनाभित्र पुनः संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । यसअघि एमालेकै माधवकुमार नेपाल समूहले समर्थन नगरी अनुपस्थित भएपछि ओलीले विश्वासको मत गुमाएका थिए । माधव समूहका २८ जना अनुपस्थित हुँदा ओलीले केवल ९३ मत पाएका थिए । उनको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका गरी १२४ मत खसेको थियो । जसपाकै महन्थ ठाकुर समूह कसैतर्फ नलागेर तटस्थ बसेपछि १५ मत तटस्थ खसेको थियो ।

आफू प्रधानमन्त्री नियुक्त भएपछि एमालेभित्रै असन्तुष्ट रहेका माधव समूहका केही नेता र जसपाका ठाकुर समूहका केही नेतालाई मन्त्री बनाउने योजनामा ओली थिए । तर जसपाका अध्यक्ष ठाकुरले तत्काल बिना कुनै सहमति वा सम्झौता वा बिनाकुनै उपलब्धी सरकारमा सहभागी नहुने बरु बाहिरबाटै समर्थन जनाउने जवाफ दिएपछि जसपाबाट तत्काल सरकारमा कोही सहभागी भएनन् । फेरि उपेन्द्र यादव समूहलाई सरकारमा सहभागी हुनबाट रोकेका ठाकुरले बिना कुनै उपलब्धि तत्काल कसैलाई पनि सरकारमा पठाउने पक्षमा छैनन् । त्यसले जसपामा समस्या उत्पन्न हुने र मधेशमा समेत नराम्रो छवि हुने भएकाले सरकारमा सहभागी नहुने निष्कर्षमा ठाकुर पुगेका छन् ।