गौरादह नगरपालिका वडा नम्बर ५ मा जनता आवास योजनाको रकम चरम दुरुपयोग

दमक । गौरादह नगरपालिका वडा नम्बर ५ मा लामो समयदेखि बसोबास गर्दै आएका छन् रुद्रप्रसाद दर्जीको परिवार । स्थानीय सरस्वती राईको जग्गामा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएका दर्जी परिवार राई कै जग्गा ठेक्कामा कमाएर जीविकोपार्जन गर्दै आएका थिए ।


जब वडाले दर्जी परिवारका लागि घर बनाइदिने कुरा सुने रुद्रप्रसादले, उनको खुशी को सिमा रहेन । घर पनि बन्यो तर दर्जी परिवार घरमा बस्न पाएनन् , अर्काको नम्बरी जग्गमा बनेको घर भन्दै दर्जी परिवारलाई लखेटियो , हाल उनिहरु खोलाको बगरमा अस्थायी टहरो हालेर बस्न बाध्य छन् ।

बिज्ञापन

जनता आवास योजना अन्तर्गत ३ लाख ३० हजार रुपैया लगानी गरेर बनाइएको दुईकोठे उक्त घर सरस्वती राईको जग्गमा बनाइएको भन्दै विवादमा आएको छ । दर्जी परिवारको लागि बनाइएको उक्त घर बिदेशमा बस्दै आएका जग्गा धनी राई परिवारले भत्काइदिने भनेपछि दर्जी परिवार उक्त घरबाट विस्थापित भएका हुन् ।

 

`जग्गा धनीको मान्छेले घर खाली गर भनेर भनेपछि के गर्नु हजुर खाली गर्नैपर्‍यो !´ रुद्रप्रसाद दर्जीले ओमकार प्रतिनिधिसंग भने ।

यसै सन्दर्भमा ओमकार टाइम्स प्रतिनिधिले वडा नम्बर ५ का वडा अध्यक्ष छत्रपती सुवेदीसंग जिज्ञासा राख्दा उनले भने ` हामीलाई सुरुमा ऐलानी जग्गा भनेर भनियो पछि जग्गा नम्बरी भएको पाइएपछि जग्गा धनीले १ कठ्ठा जग्गा बसोबास गर्न दिने भनेर मौखिक सहमति गरेपछि मात्र हामीले घर बनाएका हौं ।´

नम्बरी हो कि ऐलानी जग्गा हो भन्ने थाहै नपाई व्यक्तिले मौखिक रुपमा जग्गा दिन्छु भनेको भरमा वडाले प्रक्रिया पूरा नगरि घर बनाउन मिल्छ भन्ने ओमकार टाइम्स प्रतिनिधिको प्रश्नमा वडा अध्यक्ष सुवेदीले भने ` यहाँ हामी चुकेकै हो , हामीबाट कमजोरी भएकै हो ।´

गाउँ गाउँमा सिंह दरवार बनाउने सपना बाडेर सामान्य प्रक्रिया पनि पूरा नगरि जनप्रतिनिधिबाट यसरी राज्यको पैसा जथाभावी खर्च गरेर कमजोरी स्वीकारेकै भरमा उन्मुक्ति पाइन्छ कि पाइदैन ?, प्रश्न आफैमा गम्भीर छ ।

घर निर्माणमा पनि अनियमितताको आशंका

२० फिट लम्बाइ १५ फिट चौडाइको दुई कोठे घर , जस्ताको छाना सम्पूर्ण कुकाठ लगाएर निर्माण गरिएको घरमा ३ लाख ३० हजार रुपैयाँको खर्च निकालिएको छ ।

जवकी १५ फिट चौडाइमा पनि ६ फिटको त बरन्डा नै छ भने १जना मिस्त्री देखि बाहेक सम्पूर्ण काम दर्जी परिवारका सदस्यले श्रमदान गरेका थिए । घर निर्माणमा आफै लागेर काम गरेका हुनाले के कति सामान लाग्यो रुद्रप्रसाद दर्जीलाई प्रष्टै थाहा छ ।

दर्जीका अनुसार उक्त घर निर्माणमा ६० बोरा सिमेन्ट , २ ट्याक्टर ईटा , ३ ट्याक्टर वालुवा , २ ट्याक्टर ढुंगा , ३ बण्डल जस्तापाता र केही काठ लागेको छ । यी सम्पूर्ण सामानको बजारमुल्य जोडेर मिस्त्रीको ज्याला जोड्दा पनि २ लाख भन्दा बढी नलाग्ने एक ठेकेदारले नाम नबताउने सर्तमा ओमकार प्रतिनिधिलाई बताए ।

यसै सन्दर्भमा जिज्ञासा राख्दा उक्त वडाका वडा सदस्य कपिलमणी काफ्लेले भने ` हामीले उपभोक्त समिति मार्फत काम गरेको हो , यसको जवाफदेही पनि उपभोक्त समिति को नै हो ।´

गलत स्थानमा राज्यको सम्पत्ति खर्च गरि त्यसमाथि पनि अनियमितता हुदासम्म अर्कालाई दोषी देखाएर जनप्रतिनिधिले चै उन्मुक्ति पाउँछन् ? जवाफ खोज्ने समय भएन र !