दासढुंगा प्रकरण : प्रधानमन्त्री ओली मौन, माधवले गरे छानबिनको माग

आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस ।

जनताको बहुदलीय जनवादका प्रवर्द्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका नेता कार्यकर्ताले स्मरण गर्दैछन् ।

बिज्ञापन

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताहरु अहिले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् ।

आश्चर्य त के छ भने २८ वर्षअघिको रहस्य जीप दुर्घटनाको तथ्य अहिलेसम्म खुलासा हुन सकेको छैन । तिनै मदनको विचार र सिद्धान्तका कारण नेकपा एमाले पटक पटक ठुलो पार्टी र सरकार बनाउन समेत सफल भएको छ ।

त्यति मात्रै होइन मदनलाई मार्गदर्शक मानेर २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो ।  आन्तरिक किचलो र सर्वोच्चको आदेशले नेकपा विघटन भएर पुन एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केका छन् ।

मदन स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मदनको योगदानको स्मरण गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली दासढुंगा प्रकरणबारे मौन देखिएका छन् भने बरिष्ठ नेता नेपालले  उक्त घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

‘जननेता कमरेड मदन भण्डारी कमरेड जीराजआश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको २८ बर्ष वितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन’, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उनले ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनाले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहान्छु’ भनेर माग गरेका छन् ।