
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्ने नीति लिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् । यस्तै विकास बैंकले ४ र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकाल बताउँछन् ।
उनका अनुसार वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ५ वटा मात्रै शाख खोल्न पाउनेछन् । यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरि जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।
बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो–पालो गरेर शाखा खोल्नुपर्ने उनले बताए ।
शनिबार गृहसचिव महेश्वर न्यौपानेले सुरक्षा निकायका अधिकारीसँग छलफल गर्दै निषेधाज्ञामा थप कडाई गर्न निर्देशन दिएका थिए । उनले ७७ वटै जिल्लाका प्रमुख कार्यकारी अधिकृतलाई पत्राचार गरेर र निषेधाज्ञा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।