प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष ठाकुरको भेटवार्ता

काठमाडौं : वर्तमान सरकारमा सहभागी हुने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता हुँदैछ ।

जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल हुन लागेको हो । यसका साथै जसपाका अन्य मागको बारेमा पनि छलफल हुने बताइएको छ । छलफलमा दुवै पक्षका शीर्ष नेताहरु सहभागी छन् । जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । स्रोतका अनुसार आठ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदैछ ।

बिज्ञापन

 

नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ । कार्यकारिणी समितिमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई बहुमतमा पुग्न नदिने रणनीतिका साथ ठाकुर पक्ष सत्तामा सहभागी हुनबाट केही दिन रोकिएको बताइएको छ । आइतवारसम्म कार्यकारिणी समितिमा पनि ठाकुर बहुमतमा पुगेपछि अब सरकारमा सहभागी हुने तयारी भएको ठाकुर निकट नेताहरु बताउँछन् । विघटित प्रतिनिधि सभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना छन् ।

अध्यक्ष ठाकुरको पक्षमा बहुमत कार्यकारिणी सदस्य र सांसद संख्या रहेकाले सरकारमा सहभागिताको निर्णय लिइएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्