बाँकेमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

बाँके : बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार साँझ देखि आज बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १÷१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

राप्तिसोनारी गाउँपालिका–७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१२ बाँकेका ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको छ ।

बिज्ञापन

यस्तै नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार साँझ नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने मध्य नेपाल नगरपालिका–४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

यस्तै तुल्सीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । यस्तै घोडाघोडी नगरपालिका–१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९१ पुगेको छ भने अन्य जिल्ला बाहिरका २८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।