एमाले स्थायी कमिटी आज बस्दै, के के होला निर्णय ?

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकको पूर्वसन्ध्यामा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्षका दोस्रो तहका नेताबीच सोमवार पनि राति अबेरसम्म याक एण्ड यति होटलमा वार्ता भएको छ ।

पार्टीलाई २०७५ जेठ २ को वरिपरि फर्काएर सहमति खोज्ने प्रयासमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले अध्यक्ष ओलीको पक्षबाट वार्ता गरेका छन् । नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए । वार्तामा ठोस सहमति जुटिसकेको छैन ।

बिज्ञापन

दुवै पक्ष आफनो अडानमा यथावत रहेका कारण वार्ता निष्कर्षविहीन बन्दै गएको छ । आजको बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधि सभाका थप १२ सांसदमाथि कारवाहीबारे निर्णय हुने सम्भावना रहेको बताइएको छ । यद्यपि वार्ताका विषयमा दुवै पक्ष गम्भीर रहेको बताउँदै कारवाही एक दुई दिन रोक्न पहल पनि भइरहेको एमाले स्रोतले जनाएको छ ।

त्यस्तै बैठकमा महन्थ ठाकुर नेतृत्वको जसपाको सरकारमा सहभागिता बारेमा पनि अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराइने छ । यस्तै लुम्बिनीको राष्ट्रिय सभा सदस्य चुनावका भएको पराजयको पनि समीक्षा बैठकमा हुने छ ।