ढुङ्गा, गिट्टी र बालुवा निकासी जनविरोधी काम भएको काँग्रेस नेता थापाको आरोप

काँग्रेस केन्द्रीय सदस्य गगन थापाले सरकारले ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने कार्यक्रमको विरोध गरेका छन् ।

थापाले बुधबार सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । संसद् नभएका बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा व्यापार घाटा न्यूनीकरण गर्न नेपालको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको उनले आरोप लगाएका छन् ।

बिज्ञापन

“यो नीतिगत भ्रष्टाचार हो । आफ्ना ‘यारलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहस-नहस पारेर तराईलाई मरुभूमीकरण गर्न उद्यत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक-पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौं ।” उनले लेखेका छन् ।

यस्तै उनले सरकारको यस निर्णयले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने प्रस्ट भएको उल्लेख गरेका छन् ।

अदालतको आदेश, संसदीय समितिका पटक-पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यस जनविरोधी कार्यक्रमलाई जनप्रतिनिधिले प्रतिरोध गर्ने भन्दै सबैलाई यसको प्रतिरोध गर्न थापाले सामाजिक सञ्जालमार्फत आह्वान समेत गरेका छन् ।