सुन्दै अपत्यारिलो: आमाको हत्या गर्न १२ लाखको सुपारी | OmkarTimes.com

काठमाडौ । झट्ट सुन्दा पत्याउन गाह्रो । तर, वास्तविक घटना हो यो । नौ महिना कोखमा राखेर जन्माएको सन्तान । बुढेसकालको सहारा । तर, त्यही सन्तानबाट आमाको घाँटी रेटेर हत्या गर्न सुपारी दिएको घटना सार्वजनिक भएको छ ।

 

बिज्ञापन

घटना हिजो आइतबारको हो । भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ की ६१ वर्षीय सावित्री भट्टराईको हत्या भयो । हत्या अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा उनकी कान्छी छोरी ईश्वरी भट्टराई, भट्टराईका प्रेमी भनिएका सिराहा विष्णुपुरका मोहम्मद नौसाद, अर्जुनकुमार भनिने भोला कुमार र मोहम्मद रहिस छन् ।

 

भोला भारत अशोकनगर पूर्वी दिल्लीका हुन् भने मोहम्मद रहिस भारत मधुमनी रजौरी थानाका हुन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

प्रहरीले सोमबार उनीहरुलाई सार्वजनिक गरेको छ । अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भारतबाट आएका भोला कुमार र मोहम्मद रहिस सावित्रीको हत्या गर्न कन्ट्याकमा सुपारी दिने सर्तमा आएका हुन् ।

 

१२ लाखको सुपारी

 

सावित्री छोरी ईश्वरी भट्टराईको भक्तपुरस्थित घरमा केही महिनादेखि बस्दै आएकी थिइन् । एक वर्षअघिसम्म प्रेम सम्बन्धमा रहेका ईश्वरी भट्टराई र मोहम्मद नौसादको प्रेम सम्बन्ध सावित्रीकै कारण टुटेको थियो ।

 

त्यसपछि ईश्वरीले भक्तपुरका सोनाम थापा मगरसँग बिहे गरेकी हुन् । उनीहरुको एक सन्तान छन् । तर, बिहे गरे पनि उनको अवैध सम्बन्ध भने टुटेन । ईश्वरीले बिहे गरेपछि पनि एक लाख दिएर नौसादलाई वैदेशिक रोजगारका लागि दुबईसमेत पठाएको एसएसपी थापाको भनाइ छ ।

 

ईश्वरीले दुबईबाट केही दिनअघि आएका नौसादलाई आमाकै कारण प्रेम सम्बन्ध टुटेको बताउँदै आमाको हत्या गर्न भनेकी थिइन् । नौसाद एक्लैले हत्या गर्न नसक्ने बताएपछि ईश्वरीले नै भारतबाट मान्छे बोलाएर आमाको हत्या गर्न सुझाव दिएकी थिइन् ।

 

त्यसपछि नौसादले भारतबाट भोला र मोहम्मद रहिसलाई बोलाए । तर, उनीहरुले हत्या गरेबापत सुपारी चाहिने प्रस्ताव राखे । नौसादले ‘सुपारी प्रस्ताव’को विषय ईश्वरीलाई सुनाए । तर, ईश्वरीले हत्याबापत १२ लाख उनीहरुलाई दिने आश्वासन दिइन् । यसपछि उनीहरु हत्याका लागि नेपाल आएका हुन् ।

 

यसरी बस्यो नौसाद र ईश्वरीको प्रेम

 

केही वर्षअघि ईश्वरी र नौसाद भक्तपुरस्थित एक गार्मेन्टमा काम गर्थे । कामकै सिलसिलामा उनीहरुबीच चिनजान भयाे । चिनजानले केही समयपछि प्रेमको रुप लियो ।

 

गार्मेन्टमा नौसाद सिलाइको काम गर्थे भने ईश्वरी प्याकिङको काम गर्थिन् । त्यति बेला नै उनीहरुकोे प्रेम झांगिएको थियाे । तर, आमाको चेतावनीका कारण उनीहरुको प्रेम सम्बन्धमा खटपट आयो । केही समयपछि प्रेम सम्बन्ध पनि टुट्यो ।

 

यसरी पक्राउ परे

 

प्रहरीका अनुसार मोहम्मद नौसाद, भोला कुमार र मोहम्मद रहिस आइतबार  ११ बजे ईश्वरीको घरमा पुगेका थिए । उनीहरुले सुरुमा सावित्रीसँग कुराकानीसमेत गरेका थिए ।

 

प्रहरीका अनुसार उनीहरु स्थानीयले देख्ने गरी नै त्यहाँ पुगेका थिए । त्यतिखेर ईश्वरी घरमा थिइनन् । नौसाद यसअघि पनि ईश्वरीको घर आउजाउ गर्थे ।

 

सुरुमा उनीहरुले सावित्रीसँग भलाकुसारी गरे । र, भलाकुसारी सुरू भएकाे दुई मिनेटकै अन्तरालमै नौसादले सावित्रीको मुख थुने र मोहम्मद रहिसले चक्कुले घाँटी रेटेर सावित्रीको हत्या गरे ।

 

हत्यालगत्तै नौसादले भक्तपुरस्थित आफ्नो कोठा पुरानो ठिमी गएर रगत लागेको लुगा फेरे । त्यस्तै, भोला कुमार र मोहम्मद रहिस भने दक्षिणकालीको बाटो हुँदै भारत जान मकवानपुर पुगे । त्यस्तै, नौसाद पनि पुरानो थिमिबाट धादिङ पुगे ।

स्थानीयले दिएको हुलियाको आधारमा अपराध महाशाखाको टोलीले नौसादलाई आइतबार बेलुका धादिङबाट पक्राउ गरेको हो ।

 

नौसाद पक्राउ परेलगत्तै प्रहरीेले नौसादलाई नै फोन गर्न लगाए र मकवानपुर पुगेका भोला कुमार र मोहम्मदलाई रोकेका थिए । सुपारीको रकम लिन भन्दै रोेकिएका उनीहरुलाई महाखाशाको टोली आज बिहान ३ बजे पक्राउ गरेको हो । ईश्वरीलाई भने उनीहरुको बयानको आधारमा घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीकै सामुन्ने आक्रमण

 

ईश्वरीका श्रीमान् सोनाम थापा मगर श्रीमती र नौसादबीचको प्रेम सम्बन्धबारे जानकार थिएनन् । मगरले ईश्वरीकै डिजाइनमा सासू सावित्रीको हत्या भएको पत्रकार सम्मेलनमार्फत जानकारी पाएपछि उनले नौसाद महम्मदमाथि प्रहरीकै सामुन्ने हातपात गरेका थिए । सोनाम चलचित्र निर्मातासमेत हुन् । शिलापत्र