
काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन् ।



‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ,’ उनले भनेका छन् ।

रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको बताएका छन् । उनले दुई पटक संविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन्। उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन् ।
‘ओलीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त र विधानविपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितीमा पुगेका छौं’, रावलले भनेका छन् ।