
काठमाडौं : पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता महादेव यादवले बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै पनि राष्ट्रपतिले सरकार गठन नगरी संविधानविपरीत काम गरेका बताएका छन् ।




रिट निवेदक काँग्रेस सभापति शेरबहादुर देउवाको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्री दुवैबाट संविधानविपरीत कामकारबाही भएको बताए । संविधानको धारा ७७(३)को सरकारले उपधारा ४ बमोजिम विश्वासको मत नलिई धारा ७६(५) क्रियाशील हुन नसक्ने तर्क प्रस्तुत गर्दै एउटा धारा जम्प गरेर अर्काे धारालाई कार्यान्वयन गर्न नमिल्ने तर्क उनले राखे । मैले संविधानको यो धारा प्रयोग गर्छु यो धारा प्रयोग गर्दिन भनेर प्रधानमन्त्री वा कोही कसैले भन्न पाइदैन, धारा ७६(४)को प्रयोग नभएकोमा संवैधानिक गल्ती एवं त्रुटि भएको उनले बताए ।

उनले धारा ७६(५)अनुसार राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्दा पनि बहुमत सांसदसहितको हस्ताक्षर लिएर जाँदा पनि राष्ट्रपतिले सरकार गठन नगरेको उल्लेख गरेको भन्दै उनले राष्ट्रपतिकै कारण सरकार गठन हुन नसकेको बताए । कोही एक व्यक्तिलाई निरन्तरता दिन बहुमतको संख्यालाई वेवास्ता गरी राष्ट्रपतिले नै सरकार गठन हुन नदिएको आरोपसमेत उनले लगाए ।
यादवले भने–‘सरकार गठन हुन नसकेको हो कि सरकार गठन हुन नदिएको हो, बहुमत सांसद लिएर जाँदा पनि सरकार गठन हुन नदिएको हो, यसमा राष्ट्रपतिबाट गम्भीर त्रुटि भएको छ, अल्पमतकै सरकारलाई निरन्तरता दिन बहुमतलाई वेवास्ता गरी हठात रुपमा प्रतिनिधि सभा विघटन गरिएको हो ।’