
राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ २५ गतेदेखि निष्कासन गरेको ऋणपत्र सर्वसाधारणले आजसम्म मात्र खरिद गर्न पाउने छन् ।

बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । ८।५० प्रतिशत आरबिबी डिबेञ्चर, २०८३ नामको कूल कित्ता ऋणपत्रमध्ये बैंकले १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ भने १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरूलाई बिक्री गर्ने छ ।



सर्वसाधारणका लागि छुट्याएको प्रतिकित्ता रू। १ हजार दरको १० लाख कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमार्फत बैंकले बिक्री गर्न लागेको हो । यो ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरिदका लागि आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । बैंकको यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा रहेको सङ्केत गर्ने केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।