
काठमाडौँ : प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाइ सुरु भएको छ । अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरिरहेका छन् । देउवाका वकिले बहसका लागि १२ घण्टाको समय पाएका छन् । विपक्षीले १५ घण्टाको समय पाएका छन् । विपक्षीले बहस गरेपछि जवाफ दिन पुनः देउवाका वकिलले तीन घण्टा समय पाउनेछन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न लिखित आदेश गरेका थिए । विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।



विघटन मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

संवैधानिक इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । बुधबारबाट शेरबहादुर देउवा सहितका १४६ सांसदको रिटमा सुनुवाइ हुनेछ । निरन्तर सुनुवाइ शुरु भएपछि कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।
रिट, निवेदक तर्फका कानुन व्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।