विप्लवसँग अत्याधुनिक हतियार रहेको खुलासा

संखुवासभा– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जिल्ला नेता अत्याधुनिक हतियारसहित संखुवासभाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निमा दोर्जी तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई गत १६ असारमा भिडन्त भएको तिलिचुङ गाउँपालिका–१ नजिकैको हाइला खोला क्षेत्रबाट पक्राउ गरिएको हो ।

 

तामाङको साथबाट एक थान एसएलआर, सोको म्यागजिन थान १, ११० थान गोली, एलएमजीको म्यागजिन र विद्युतीय धरापमा प्रयोग गरिने तार बरामद भएको दाबी प्रहरीले गरेको छ । तामाङलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान जारी राखिएको छ ।

 

बुधबार मात्र विप्लव समूहका पूर्वी कमाण्ड इन्चार्ज विषमले आफ्ना तीन कार्यकर्ता बेपत्ता भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । विप्लव समूहले भने त्यहाँ कुनै भिडन्त नभएको दाबी गरेको छ ।

 

आफ्ना कार्यकर्ताहरु संगठन सुदृढीकरण र विस्तार अभियानमा पुगेका बेला प्रहरीले तीन वटा हेलिकप्टरसमेत खटाएर घेरा हाली एकोहोरो गोली चलाएको र त्यसलाई दोहोरो भिडन्तको संज्ञा दिएको दाबी सो समूहको छ ।