
स्याङ्जा : वालिङ नगरपालिका—१३ नम्बर वडा कार्यालयले वडाभित्र रहेका विद्यालयमा कार्यरत शिक्षकलाई अनलाइन शिक्षणसम्बन्धी तालीम सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणका कारण विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित भएर पठपाठन गर्ने अवस्था नभएपछि वडा कार्यालयले विद्यार्थीको पढाइलाई ध्यानमा राखी अनलाइन कक्षाको सञ्चालन गर्न शिक्षकलाई आवश्यक तालीम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष आनन्द पाठकले कोरोना सङ्क्रमणको महामारी कहिले रोकिन्छ भन्ने यकिन नभएकाले विद्यार्थीको पढाइमा असर नपरोस् भनेर अनलाइनबाटै वडाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको बताए । शिक्षकलाई अनलाइन प्रविधिको बारेमा तालीम दिएसँगै विद्यार्थीले सहजरुपमा आफ्नो घरमै बसेर बढ्न पाउने उनको भनाइ छ ।
वडाभित्र रहेका पाँँच सामुदायिक र दुई संस्थागत विद्यालयका शिक्षकलाई पायक पर्ने विद्यालयमा तालीम दिने व्यवस्था वडा कार्यालयले मिलाएको छ भने वालिङ—१३ मा रहेको आँधीखोला बहुप्राविधिक शिक्षालयले शिक्षकलाई अनलाइन शिक्षणसम्बन्धी प्राविधिक विषयहरुमा प्रशिक्षण दिएका छन् । केही दिन पहिले कार्यालयले वडाभित्र रहेका विद्यार्थीको घरघरमा निःशुल्क इन्टरनेट जडान गर्ने निर्णय गरेको थियो ।