
क्यानबेरा । अष्ट्रेलियामा धुमपानको कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ। अष्टेलियाली नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको अध्ययनले धुमपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचारमा जनाइएको छ।

धुमपानका कारण रक्तबाहिनी नलीसम्बन्धी समस्या तथा हृदयघातका कारण मृत्यु हुने गरेको उक्त अनुसन्धान प्रतिवेदनमा देखाइएको छ। यस विश्वविद्यालयअन्तर्गतको जनस्वास्थ्य तथा इपिडिमियोलोजी केन्द्रका एमिली ब्याङ्कस नेतृत्वको टोलीले सात वर्ष लगाएर अनुसन्धान गरेको थियो।
अध्ययन टोलीले धुमपान गर्ने एक लाख ९० हजार अष्ट्रेलियालीमा अनुसन्धान गर्दा धुमपान नगर्नेको भन्दा ३६ प्रकारका फरक रोगहरु देखिएको जनाएको छ। हरेक वर्ष रक्तबाहिनीसम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या भन्दा ६ हजार चार सय बढीको मृत्यु धुम्रपानका कारण हुने गरेको अध्ययनले देखाएको छ।
अध्ययनका क्रममा मुटुसम्बन्धी विभिन्न रोग, चोटपटकलगायतका कारणले मृत्यु हुनेका बारेमा पनि अध्ययन गरिएको अध्ययनकर्ताले जनाएका छन्। अष्ट्रेलियामा अहिले धुम्रपान गर्ने व्यक्तिको संख्या कुल २७ लाख रहेको अध्ययन टोलीका प्रमुख ब्याङ्कसले बताए।
उनीहरुमध्ये अधिकांशले प्रत्येक दिन कम्तीमा पाँचवटा चुरोट पिउने गरेको पनि सो अनुसन्धानमा बताएका छन्।