
एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगितामा आज अन्तिम आठमा दुई खेल हुँदै छन् । युरोपका विभिन्न ११ सहरमा जारी यस प्रतियोगिता आज सेमिफाइनल प्रवेशका लागि ४ टोली प्रतिस्पर्धामा रहेका छन् ।
आज हुने पहिलो खेलमा ३ पटकको उपाधि विजेता स्पेनले स्विट्जरल्यान्डसँग खेल्दै छ । यो खेल रसियाको सेन्ट पिटर्सबर्गमा नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुनेछ । यस खेलमा दुवै एक–अर्कामाथि जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न दाउमा रहेका छन् ।
स्विट्जरल्यान्ड साविक उपविजेता फ्रान्समाथि पेनाल्टी सुटआउटमा ५–४ गोलको जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । स्पेनले भने क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको हो ।
स्विट्जरल्यान्ड र स्पेन युरोपियन च्याम्पियनसिपमा पहिलो पटक भिड्न लागेका हुन् । विश्वकपमा भने दुई टिमले तीन पटक खेलेका छन् । जसमा स्पेनले दुई खेलमा जित निकालेको छ भने स्विट्जरल्यान्ड एक खेलमा विजयी भएको छ ।
हालसम्म यी दुई टिमले २२ खेल खेलेका छन्, जसमा स्पेनले १६ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ । स्विट्जरल्यान्डले भने एक खेल मात्र जितेको छ ।
त्यस्तै आज हुने अर्को खेलमा बेल्जियमले इटालीको सामना गर्दै छ । जर्मनीको एलियान्ज स्टेडियममा हुने यो खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १–० गोलको जित दर्ता गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । इटालीले भने अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
इटालीले एक पटक उपाधि पनि जितेको छ भने बेल्जियम उपाधि नजिक पुगेर पनि ट्रफी जित्न सकेको छैन । समूह चरणमा अपराजित रहँदै समूह विजेता बन्न सफल बेल्जियमले नकआउट चरणमा साविक विजेता पोर्चुगललाई स्तब्ध बनाउँदै अघिल्लो चरणमा स्थान बनाएको थियो । उसले हालसम्म चार खेल खेल्दा एक गोलमात्र खाएको छ भने अन्य टोलीविरुद्ध नौ गोल गरिसकेको छ ।
बेल्जियम र इटालीबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ भने चार खेल बेल्जियमले जितेको छ । चार खेल भने बराबरीमा सकिएको छ । मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको चार भेटमा इटालीले तीन जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।