नेतृत्वलाई मिल्न दबाब दिँदै चन्द्रागिरीमा एमालेका जनप्रतिनिधिको प्रदर्शन

काठमाडौँ : नेकपा एमालेका नेताहरुलाई मिल्न दवाव दिँदै काठमाडौँको चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् । शनिबार चन्द्रागिरीका एमालेतर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकतावद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरुले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् । सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलिय जनवाद जिन्दवाद लगाएत लेखिएका प्लाकार्ड प्रदर्शन गरिएको थियो ।

बिज्ञापन

प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एकढिक्का बनाउन अब मुलुकभरिबाट दवाव दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल लगाएतका नेताहरु एक भएर अघि बढ्नुपर्ने बताए ।

चन्द्रागिरी नगरपालिका वडा नंवर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरु एमालेलाई एकढिक्का बनाउन दवावमुलक कार्यक्रममा उत्रनुपरेको बताए ।

उनीहरुले एमालेलाई एकतावद्ध बनाउनका लागि हरसम्भव दवाव दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देश व्यापी बनाउने बताएका छन् ।