संसद् विघटन मुद्दा : आज सभामुखको तर्फबाट बहस हुँदै

काठमाडौं : प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस हुँदै छ । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ ।

त्यसपछि आइतबार नै निवेदक पक्षका कानून व्यवासायीले जवाफी बहस गर्ने छन् । ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर निवेदकको जवाफी बहस सुरु हुनेछ । निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो ।

बिज्ञापन

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानून व्यवसायीले १४ घण्टा बहस गरेका थिए । बहस गत असार ९ गतेबाट सुरु भएको हो । सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।

जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । जवाफी बहस आजै सकिने सम्भावना भने कम छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैछन् । उनीहरुको बहस सकिएपछि सोमबार एमिकस क्युरीका चार जनाले २ घण्टा आफ्नो राय पेश गर्ने छन् । त्यससँगै यो मुद्दाको फैसला आउनेछ ।