
काठमाडौं – निर्वाचन आयोगले माओवादी खारेज गर्न माग गर्दै दिएको निवेदन नै खारेज गरिदिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले माओवादी खारेज गर्न माग गर्दै दिएको निवेदन नै खारेज गरिदिएको हो ।
आयोगले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ ।
माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा माओवादी केन्द्र खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
निवेदनमा माओवादी केन्द्र पार्टी नै अवैधानिक भएको भन्दै अवैधानिक पार्टीले गरेको कारवाही फुकुवाको माग पनि गरेका थिए ।
गत फागुन २३ मा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन गरी साविककै नेकपा एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि माओवादी नेता तथा सांसदहरु एमालेतिर लागेका थिए । माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशङ्कर चौधरीको सांसद पद गुमेको थियो ।
माओवादी केन्द्रले लामो समयसम्म महाधिवेशन नगरेको, दल ऐनअनुसार कुनै प्रक्रिया पूरा नगरेको अवैधानिक दल भएकाले त्यस्तो दलले गरेको कारवाही पनि अवैधानिक हुने उनीहरूको तर्क थियो ।