
दमक । गौरादह नगरपालिका वडा नम्बर ६ मा किसानलाई बितरण गरेका बोयर जातको बोकामा अनियमितता गरेको भन्दै गौरादह न्यायीक समितिमा उजुरी परेको छ ।उक्त वडाका ११ जना युवा तथा किसानहरुले संयुक्त रुपमा हस्ताक्षर गरि कृषकहरुका लागि आएको अनुदानहरुमा अनियमितता गरेको भन्दै छानबिनको माग गरेका छन् ।
उपभोक्ता समिति बनाई समितिका अध्यक्ष मनोज सिटौला र सचिव भोला बरालले आफुलाई राम्रा बोयर जातको बोका अनुदानमा पारि अन्य बाख्रा फर्मलाई लोकल जातका बाख्रा अनुदान लिइएको गम्भीर आरोप लगाइएको छ ।
उपभोक्ता समितिले असार १२ गते बोयर जातको बोका खरिद गर्ने निर्णय गरि ६ वटा बोका खरिद गरेता पनि खरिद गरिएका बोका बोयर जातको हो होइन , हो भने कति प्रतिशत बोयर हो प्रमाणित नगरि खरिद गरेको पाइएको छ । वडा कार्यालयले छुट्टाएको ३ लाख रुपैयामा बोका खरिद गर्ने निर्णय गरेको भएता पनि बोका खरिद बिलमा भने ३ लाख ५४ हजार रुपैयामा खरिद गरेको देखिन्छ । बाकी ५४ हजार कहाँबाट आयो भन्ने कुरामा समिति मौन छ ।
यसै सन्दर्भमा उपभोक्ता समितिका अध्यक्ष मनोज सिटौलासंग जिज्ञासा राख्दा कुनै किसिमको अनियमितता नभएको जिकिर गर्दै आफू व्यस्त रहेको र पछि कुरा गर्ने बताए पनि पछि सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
तपाईहरुले खरिद गरेको बोका बोयर जातकै हो भनेर कस्ले प्रमाणीत गर्यो भन्ने प्रश्नमा समितिका सचिव भोला बराल जवाफ बिहिन भए भने आफै उपभोक्ता समितिको सचिवमा बस्ने अनि राम्रो बोका चै आफैले राख्ने भन्ने प्रश्नमा बराल भन्छन् ` म पनि कृषक हो , मेरो पनि बाख्रा फर्म छ प्रक्रियागत ढंगले नै मैले बोका लिएको हो ।´
वडाले छुट्टाएको बजेटमा उपभोक्ता समितिले आफू अनुकुल हुनेगरि ब्रम्हलुट गरिराख्दा वडा कार्यालय के हेरेर बसेको छ भन्ने ओमकार टाइम्स प्रतिनिधिको प्रश्नमा ६ नम्बर वडाका वडा अध्यक्ष खड्ग पराजुलि भन्छन् ` म अब यो बिषयमा गम्भीर भएर जाँच गर्छु र दोषी कोही पाइए कारबाहीको प्रक्रिया अगाडि बढाउछु ।´
अध्यक्ष पराजुलीले दोषीलाई कारबाही गर्ने कुरा बताउदै गर्दा अझ आश्चर्यजनक कुरा त के छ भने गौरादह नगरपालिकाको पशु शाखाले सबै बोकाहरु स्वास्थ छन् भनेर प्रमाणित गरेर दिए पनि ती मध्ये एउटा बोका खरिद गर्दैदेखि बिरामी रहेको खुलेको छ ।यसरी वडाको बजेटमा सिमित व्यक्तिहरुले आफू अनुकुल उपभोक्ता समिति बनाई बजेट दुरुपयोग हुदासम्म सम्बन्धित निकाय मौन हुनु आफैमा शंकास्पद देखिन्छ ।