खैरो हेरोइनसहित भेटिएका वडाध्यक्ष प्रहरी नियन्त्रणमा

वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकाका–१ का वडाध्यक्ष अमेरिका सहनी खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनलाई वीरगन्ज महानगरपालिका–१९ बर्वास्थित सडक खण्डबाट प्रहरीको टोलीले पक्राउ गरेको हो ।

आइतबार राति साढे १० बजे बर्वास्थित सडक खण्डमा ना१ब ३५९५ नम्बरको मोटरसाइकल जाँच गर्दा ७९ ग्राम खैरो हेरोइनसहित सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पकाहामैनपुर गाउँपालिका–१ धोरे निवासी ५५ वर्षीय अमेरिका सहनीले चलाएको मोटरसाइकलको फिल्टर बक्सबाट खैरो हिरोइन बरामद भएको हो ।

गाउँपालिकाको सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हेरोइन ओसारेका सहनी उक्त गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष हुन् । मोटरसाइकलमा पछाडि बसेका सोही वडाका ५२ वर्षीय रामआदेश सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।