
एजेन्सी। श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघे अहिले कार्यबाहक राष्ट्रपति पनि हुन्। तर, उनी त्यो पदमा कति समय टिक्छन् भन्ने अहिलेको यक्ष प्रश्न हो। सङ्कट चर्किएपछि देश छाडेर भागेका उनका अग्रज गोटाबाय राजापाक्षे बिहीबार मालेबाट सिंगापुर उडेका छन्।

राजापाक्षेले औपचारिक रूपमा राजीनामा दिन बाँकी नै छ। ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघेले कहिल्यै पनि आफ्नो कार्यकाल पूरा गरेका छैनन्। कार्यबाहक राष्ट्रपतिको रूपमा विक्रमासिंघेको नयाँ भूमिका खासै सुखद भएन किनकि पदबहालीको पहिलो दिनमै देशमा सङ्कटकाल घोषणा गरे।



त्यस्तै, देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु घोषणा गरेका छन्। एक टेलिभिजन सम्बोधनमा उनले प्रदर्शनकारीहरूलाई ‘फासिस्ट’ भनेर निन्दा गरेका छन्। प्रदर्शनकारीले उनलाई राजापाक्षेको निकट सहयोगीका रूपमा हेर्दै आएका छन् र उनले पनि तत्काल राजीनामा दिनुपर्ने बताउँछन्। शनिबार भएको झडपका क्रममा उनको निजी निवासमा आगजनी गरिएको थियो।

त्यतिबेला उनी घरमा भने थिएनन्। अप्रिलमा राजधानी कोलम्बोबाट सुरु भएको प्रदर्शन देशव्यापी फैलिएको छ। वास्तवमा श्रीलंकाको अवस्था भयावह छ। महिनौँदेखि मानिसहरू दैनिक लोडसेडिङ, इन्धन, खाना र औषधि जस्ता आधारभूत वस्तुहरूको अभावसँग जुधिरहेका छन्।
देशको विदेशी मुद्रा सञ्चिति सकिएको छ, जसका कारण सरकार अत्यावश्यक सामग्री किन्नबाट बञ्चित छ। पेसाले वकिल विक्रमासिंघे सभ्रान्त परिवारकाको प्रतिनिधित्व गर्ने राजनीतिज्ञ हुन्। उनी पहिलो पटक सन् १९७७ मा संसद्मा निर्वाचित भएका थिए। सन् १९८९ मा रणसिंघे प्रेमदासा राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पार्टी पङ्क्तिमा अगाडि बढेका थिए। उनले पहिलो पटक सन् १९९३ देखि १९९४ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरे।
सन् १९९४ मा लिबरेसन टाइगर्स अफ तमिल इलमका संदिग्ध विद्रोहीले गामिनी दिसानायकेको हत्या गरेपछि उनी युनाइटेड नेसनल पार्टी (यूएनपी)को नेता बने। इप्पावाला शहरमा सम्बोधनका क्रममा भएको बम विस्फोटमा उनी आफैँ एक हत्या प्रयासबाट बच्न सफल भएका थिए।
विक्रमासिंघेले भ्रष्ट पार्टी सदस्यहरूलाई हटाउन अनुशासन आयोग नियुक्त गरेर आफ्नो पार्टीको छवि सुधार गरे। सन् २०१९ मा इस्टर सन्डेमा भएको घातक बम विस्फोटका समयमा उनी प्रधानमन्त्री थिए। उक्त हमलामा कम्तीमा २५० जनाको मृत्यु भएको थियो। पछिल्लो ससंदीय निर्वाचनमा उनको यूएनपी एउटा सिटमा विजयी भएको थियो।
अहिले प्रधानमन्त्रीमाथि चौतर्फी दबाब छ। प्रदर्शनकारीले उनको राजीनामा पहिलो शर्त बनाएका छन्। विपक्षीहरूले पनि उनलाई राजीनमा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। देशमा अहिले यति उथलपुथल छ कि जसलाई समाधान गर्न विक्रमासिंघेलाई हम्मेहम्मे देखिन्छ। उनी अहिले ठूलो अग्निपरीक्षामा छन् ।