कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सुरु भएको  छ ।

मगंलबार बैठक बिहान १० बजे बस्ने भनिएको बैठक करिब १३ बजेदेखि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको हो ।

बिज्ञापन

बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस्तै, रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन आजको बैठकमा बुझाइनेछ ।

पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै साउन १२ गतेदेखि शुरु हुन लागेको अधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गरेको थियो । बैठकले केन्द्रीय महाधिवेशनको कार्यतालिकाका बारेमा भने केही बोलेको छैन ।

पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तत्काल तोक्न सकेको छैन । क्रियाशील सदस्यता टुङ्गो लागेपछि महाधिवेशनको नयाँ मितिबारे पदाधिकारी बैठकमा छलफल गरेर केन्द्रीय कार्यसमितिको बैठकमा अनुमोदनका लागि पठाइनेछ ।