विप्लव नेकपाले गर्यो दमकमा प्रदर्शन

दमक। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले झापाको दमकमा सोमबार विरोध प्रदर्शन गरेको छ । उसले भारतीय एसएसबीको ज्यादतिको विरुद्धमा विरोध प्रदर्शन गरेको हो ।

दार्चुलामा भारतीय एसएसबीले तुइनको लठ्ठा काटिदिएपछि महाकाली नदी तर्ने क्रममा खसेर नेपाली नागरिक जय सिँह धामीको मृत्यु भएको थियो। सोही विषयलाई लिएर उसले देशैभर विरोध प्रदर्शन गरिरहेको छ।

बिज्ञापन

दमकको बसपार्कबाट विरोध र्याली निकालेको उसले पश्चिम बसस्टेशन हुँदै दमकको वरपिपल चोकमा आएर कोणसभा गरेको थियो। कोणसभालाई सम्बोधन गर्दै झापाका इन्चार्ज सुमन लिम्बुले भारतीय ज्यादती रोक्नु पर्ने भन्दै भारत सरकारले नेपालसँग माफ माग्नुपर्ने बताए । उनले जय सिँहको मृत्यु भएको यतिका दिनसम्म पनि सरकारले आफ्नो धारणा सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना गरेका थिए। उनले यो सरकार विदेशी दलालहरुले बनाइदिएको हुनाले यसको औचित्य नभएको बताए ।

इञ्चार्ज लिम्बुले एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै पारित गरिए प्रचण्ड, देउवाहरुलाई रत्नपार्कमा जनताले घाँटी रेटेर हत्या गर्ने उल्लेख गरे । त्यस्तै सुकुम्वासीहरुको घरमा डोजर लगाउनेहरूको घरमा आवश्यक परे बमले उडाइदिने चेतावनी समेत दिए। कार्यक्रममा केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह लगायतको उपस्थिति रहेको थियो ।