
बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा सत्तापक्षीय विद्यार्थी संगठनले मंगलबार बिहान तोडफोड गरेका छन्। नेपाल विद्यार्थी संघ(नेविसंघ), अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल(क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका हुन्।
तोडफोडपछि विद्यार्थी संगठनले निकालेको संयुक्त विज्ञप्तिमा एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई अटोनोमसुतर्फका एमबीएस-एफ र एमबिए(बीएफको प्रवेश परीक्षा फारम खुलाएका कारण क्याम्पस प्रशासनमा तोडफोड भएको बताइएको छ।
विज्ञप्तीमा भनिएको छ:’लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलनरत थियो। तर त्यसलाई बेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमबीएस-एफ र एमबीए-बीएफको प्रवेश परीक्षा फारम खुलाएर हाम्रो अवज्ञा गरेको हुँदा विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा तोडफोड भएको छ।’ विद्यार्थीहरुले क्याम्पसमा भएको क्षतिको जिम्मेवार क्याम्पसको सञ्चालक समिति हुने बताएका छन्।
क्याम्पस प्रमुख डा ताराप्रसाद उपाध्यायले क्याम्पसको प्रवेशद्धारसँगै रहेको पुरानो भवनमा रहेका लेखा शाखा र परीक्षा शाखामा विद्यार्थीहरुले क्षति पुर्याएको बताए। विद्यार्थीहरुले त्यहाँ रहेका कम्प्युटर र कुर्सी तोडफोड गरी महत्वपूर्ण कागजातहरुमा समेत क्षति पुर्याएको उनको भनाइ छ।