पुस ३ भित्र पदाधिकारी चयन गर्न निर्देशन

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ ।

मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित गर्न नसकेपछि यस्तो निर्देशन दिइएको हो ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको छ । त्यसअघि नै प्रदेशका पदाधिकारी टुङ्गो लगाउन निर्देशन दिइएको छ । स्थायी समिति सदस्य हरिबोल गजुरेलले भन्नुभयो,“प्रदेश २ ले समय मागेका कारणले पनि ढिलाइ हुन पुगेको हो । पुस ३ गतेसम्म सम्पन्न हुनेछ । ”

माओवादी केन्द्रका सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश समिति गरीनौमध्ये छवटामा अध्यक्षसहित पदाधिकारीमा विवाद हुँदा टुङ्गो लागेको छैन ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठका अनुसार प्रदेश १, बागमती, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रदेश कार्यसमिति मात्र निर्वाचित भएको छ । पदाधिकारी चयन भएको छैन ।