
धनगढी- कैलालीबाट दुई थान बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १२ बोर एक थान, त्यसमा लाग्ने कार्टिज एक, प्वाइन्ट टुटु थान एक र सोमा लाग्ने गोली १० राउन्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । बरामद गरिएका १२ बोर र त्यसमा लाग्ने कार्टिज चौधरीको तथा प्वाइन्ट टुटु र सोमा लाग्ने गोली शाहको रहेको प्रहरीले बताएको छ ।



पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा जाँचका क्रममा बा. १७ च. १३१२ नम्बरको जिपमा लुकाइ राखेको अवस्थामा बन्दुक र गोली बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ गइरहेको जिप खानतलासी गर्दा बन्दुक र गोली बरामद गरेको थियो ।

गाडीमा चौधरी र शाहका साथै धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रूपक मल्ल, कैलारी गाउँपालिका वडा नम्बर ९ का ३३ वर्षीय योगेन्द्रबहादुर देउवा सवार थिए ।
यसअघि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दा लागेपछि उनी महिनौं फरार भएका थिए।